काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कुल ५८ अर्ब १ करोड ८ लाख ५ हजार ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ। उद्योग विभाग तथ्याङ्कअनुसार उक्त अवधिमा वैदेशिक लगानीका लागि कुल १ हजार ११६ वटा परियोजना स्वीकृत भएका छन्, जसमा कुल ८५ अर्ब १२ करोड ८० लाख ४४ हजार ५४९ रुपैयाँ बराबरको पूँजी लगानी प्रस्ताव गरिएको छ। स्वीकृत यी उद्योगहरूबाट कुल २८ हजार ४२३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
क्षेत्रगत रूपमा कृषि तथा वनजन्यमा सर्वाधिक लगानी स्वीकृत
क्षेत्रगत आधारमा हेर्दा प्रत्यक्ष वैदेशिक लगानीतर्फ कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा बढी २३ अर्ब १८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। यस क्षेत्रका १८ वटा परियोजनामा कुल ३१ अर्ब ८२ करोड २५ लाख रुपैयाँ कुल पूँजी प्रस्ताव गरिएको छ भने ७ हजार ७१२ रोजगारी सिर्जना हुने उल्लेख छ।
त्यसैगरी, पर्यटन क्षेत्रमा २२६ वटा परियोजनामार्फत १३ अर्ब ९९ करोड ७४ लाख ५० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ, जसको कुल पूँजी १३ अर्ब ९४ करोड ५२ लाख ८ हजार २०० रुपैयाँ रहेको छ र यसबाट ९ हजार ६८५ रोजगारी प्रस्ताव गरिएको छ। ऊर्जामा आधारित ४ वटा परियोजनामा ७ अर्ब १६ करोड ८६ लाख ८५ हजार ८७३ रुपैयाँ २२ पैसा बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ, जसमा १५ अर्ब ८७ करोड ६६ लाख ९५ हजार ५९८ रुपैयाँ कुल पूँजी र ८६ रोजगारी प्रस्तावित छ।
उत्पादनमूलक क्षेत्रका ६४ वटा उद्योगका लागि ३ अर्ब ९१ करोड ८७ हजार ५३२ रुपैयाँ वैदेशिक लगानी र ८ अर्ब ६७ करोड १८ लाख २२ हजार ७५१ रुपैयाँ कुल पूँजी स्वीकृत हुँदा २ हजार ७५९ रोजगारी सिर्जना हुने देखिएको छ। सेवा क्षेत्रका ७१ वटा परियोजनामा ४ अर्ब ९१ करोड ४० लाख रुपैयाँ वैदेशिक लगानी र ५ अर्ब ३५ करोड ९० लाख रुपैयाँ कुल पूँजी स्वीकृत भएको छ, जसबाट २ हजार ५२२ रोजगारी प्रस्ताव गरिएको छ।
परियोजना संख्याका आधारमा सबैभन्दा अगाडि रहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ७२७ वटा परियोजनामा २ अर्ब ८३ करोड ३४ लाख ३९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। यिनको कुल पूँजी ३ अर्ब ४१ करोड ५ लाख ६५ हजार रुपैयाँ रहेको छ भने ५ हजार ३३१ रोजगारी सिर्जना हुने अनुमान छ। पूर्वाधारतर्फ २ वटा परियोजनामा १ अर्ब ८० करोड ४४ लाख २२ हजार ९०० रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ, जसमा ५ अर्ब ८८ करोड २२ लाख ५३ हजार रुपैयाँ कुल पूँजी र २२८ रोजगारी प्रस्तावित छ। यस्तै, खनिजजन्य ४ वटा उद्योगका लागि १८ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानी र १६ करोड रुपैयाँ कुल पूँजी स्वीकृत हुँदा १०० रोजगारी सिर्जना हुने तथ्याङ्कमा उल्लेख छ।

स्तरअनुसार ठूला उद्योगमा ३२ अर्ब १६ करोडभन्दा बढीको वैदेशिक लगानी
उद्योगको स्तरअनुसार वर्गीकरण गर्दा आर्थिक वर्ष २०८२/८३ मा साना, मझौला र ठूला गरी कुल १ हजार ११६ वटा उद्योगका लागि वैदेशिक लगानी स्वीकृत भएको छ।
तथ्याङ्कअनुसार १२ वटा ठूला उद्योगका लागि ३२ अर्ब १६ करोड ११ लाख ८ हजार ७७३ रुपैयाँ २२ पैसा बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। ठूला उद्योगहरूको कुल प्रस्तावित पूँजी ५७ अर्ब ४९ करोड ८० लाख ५५ हजार ५९८ रुपैयाँ रहेको छ भने यसबाट ७ हजार ७४६ रोजगारी सिर्जना हुने अनुमान छ।
यस्तै, १२ वटा मझौला उद्योगमा ८ अर्ब ८२ करोड ४० लाख ८७ हजार ५३२ रुपैयाँ बराबरको वैदेशिक लगानी र ४ अर्ब ६४ करोड ८४ लाख ७२ हजार ४७१ रुपैयाँ कुल पूँजी स्वीकृत भएको छ, जसबाट १ हजार ७२७ रोजगारी प्रस्ताव गरिएको छ। संख्यात्मक रूपमा सबैभन्दा धेरै १ हजार ९२ वटा साना उद्योग दर्ता स्वीकृत भएका छन्, जसमा १७ अर्ब १ करोड ५८ लाख ८९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी र २२ अर्ब ९८ करोड १५ लाख १६ हजार ४८० रुपैयाँ कुल पूँजी प्रस्ताव गरिएको छ। साना उद्योगहरूबाट सर्वाधिक १८ हजार ९५० जनालाई रोजगारी प्राप्त हुने अनुमान गरिएको छ।

वैदेशिक लगानी स्वीकृतिमा चीन शीर्ष स्थानमा, शीर्ष पाँच देशको लगानी विवरण
वैदेशिक लगानीका लागि स्वीकृत उद्योगको तथ्याङ्कअनुसार परियोजना संख्याका आधारमा चीन सबैभन्दा अगाडि देखिएको छ। औद्योगिक तथ्याङ्कको तालिकाअनुसार चीनबाट ६१३ वटा परियोजनाका लागि ३५ अर्ब १९ करोड ४५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
परियोजना संख्याका आधारमा शीर्ष पाँच देशमा चीनसँगै बंगलादेश, भारत, संयुक्त राज्य अमेरिका र दक्षिण कोरिया परेका छन्। बंगलादेशबाट १२१ वटा परियोजनाका लागि ८९ करोड २७ लाख ६२ हजार रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ। त्यसैगरी, भारतबाट ८५ वटा परियोजनाका लागि १३ अर्ब ३१ करोड ३२ लाख ३५ हजार ८७३ रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको तथ्याङ्कमा उल्लेख छ। यस्तै, संयुक्त राज्य अमेरिकाबाट ६६ वटा परियोजनामा ४ अर्ब ७६ करोड १७ लाख २२ हजार ९०० रुपैयाँ र दक्षिण कोरियाबाट २१ वटा परियोजनामा २८ करोड ७१ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।




