काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा रहेको हो ।
बैंकको संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखेको छ । उक्त सेयर खरिद गरी लिन इच्छुक यस बैकका संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
उक्त मितिमा विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशनको अधिनमा रहि प्रचलित कानून बमोजिम बाह्य खरिदकर्ताका लागि उक्त सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागज प्रमाण संलग्न गरी यस बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गरी लिन चाहेको हो त्यसको विवरण खुलाएर आवेदन दिनु पर्ने छ ।



