प्रतिकूल मौसमका कारण हवाई उडानहरु प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडानहरु सामान्य प्रभावित भएका छन्। निरन्तरको वर्षाका कारण भिजिबिलिटी न्यून हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तरराष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तरराष्ट्रिय उडान पनि केही ढिलो भएका छन्।

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ पोखरा, भरतपुर र सिमरा विमानस्थल दिउँसोसम्म पनि बन्द थिए। आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ।

पोखरा विमानस्थलको भिजिबिलिटी न्यून हुँदा काठमाडौँ–पोखरा कुनै पनि उडान भएको छैन। पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ।

मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडानसमेत प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनुसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका १/२ स्थानमा हलुकादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी र गण्डकी प्रदेशका १/२ स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको पूर्वानुमान पनि महाशाखाले गरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार