अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा काठमाडौं जोड्न सबै बैकल्पिक सडक खुल्ला

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ मार्ग सञ्चालनमा आएको छ । नेपाली सेनाको सक्रियतामा कान्ति लोकपथ सञ्चालनमा ल्याइएको हो ।

मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुर जिल्ला, बाग्मती गाउँपालिका–२ बगुवास्थित बाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपश्चात् अवरुद्ध भएको कान्ति लोकपथ मार्गमा मिति सोमबारबाट सवारी आवागमन सुचारु भएको छ ।

उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा कार्य गरिरहेको जनाएको छ ।

दुई स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन गरेको छ । यसैगरी ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरेको छ भने बागमती नदीमा करिब ४० मिटर लम्बाइको र्‍याप निर्माण गरी पुलसम्म सडक जोडेको जनाएको छ ।

हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए ।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि सञ्चालनमा आएको हो । ग्याबिन बक्स तथा बागमती नदीमा ह्युम पाइप राखी अस्थायी सडक बनाएको जानकारी दिँदै सेनाले कान्ति लोकपथको अन्य विभिन्न खण्डमा पहिरो पन्छाउने कार्य गरेको जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार