काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले ‘विश्व स्वास्थ्य सङ्गठन गुड म्यानुफ्याकचरिङ प्रैक्टिस- डब्लुएचओ जीएमपी’ प्रमाणपत्र प्राप्त गरेको छ। साथै कम्पनीले नेशनल जीएमपी प्रमाणपत्र पनि प्राप्त गरेको छ।
गुणस्तरलाई उच्चतम प्राथमिकता दिएर औषधि उत्पादन गरिरहेकोले उद्योगले WHO – GMP (विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास) र National GMP प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ। साउनमा WHO-GMP Guideline र औषधि उत्पादन कुशल अभ्यास संहिता २०७२ (पहिलो संसोधन) बमोजिमको प्रमाणीकरणको कार्य संबन्धित निकायले गरेकोमा आज WHO-GMP र National GMP प्रमाणपत्र प्राप्त गरेको सोपानले जनाएको छ। यस संगै सोपान अब WHO-GMP, National GMP र ISO 9001:2015 सर्टिफाइड कम्पनी बनेको छ।
कम्पनीका सीईओ सुमन न्यौपानेले भने यस प्रमाणपत्रको प्राप्ति संगै कम्पनीले राखेको प्रमुख लक्ष्यहरू मध्यको एक महत्वपूर्ण लक्ष्य हासिल गर्न सोपान फर्मास्युटिकल्स लिमिटेड सफल भएको बताए। उनले भने ‘ यस सफलतामा मार्गनिर्देश र साथ दिनुहुने कम्पनीको संचालक समिति, प्रमुख संस्थापक सोपान मल्टिपल कम्पनी लि.को संचालक समिति, शेयरधनीहरु, टेक्निकल तथा अन्य कर्मचारीहरू र सोपानलाई विश्वास गरी साथ दिनुहुने हेल्थकेयर प्रोफेसनल्स, औषधिका थोक तथा खुद्रा बिक्रेता र कन्ज्युमर्सलाई हार्दिक धन्यवाद दिदै सोपानले उच्चतम गुणस्तरको औषधि उत्पादन गरी सुलभ मूल्यमा उपलब्ध गराउँदै जाने प्रतिबद्धता समेत जाहेर गर्दछौँ।”
यो प्रमाणपत्रको प्राप्तिले कम्पनीको बिक्री दायारा फराकिलो बन्ने र ब्यापारमा उल्लेख्य वृद्धि हुदै जाने र आगामी बर्षबाट औषधिको निर्यात समेत सुरू गरिने योजना रहेको समेत सिईओ न्यौपाने जानकारी गराए।
औषधि उत्पादन क्षेत्रमा लामो अनुभव भएका वरिष्ठ फर्माशिष्ट तथा सोपान फर्मास्युटिकल्सका टेक्निकल डाईरेक्टर शरद खनालले यो उपलब्धी को कारण उद्योगको नक्साङ्कन देखि हरेक उपकरण र गतिबिधिहरू WHO-GMP Model मा ब्यवस्थापन गरिएकोले, दक्ष टेक्निकल टिमको अनवरत मेहनत र सरोकारवाला सम्पूर्णको संयुक्त योगदानले सम्भव भएको बताए।
कम्पनीले हाल ६० बढी औषधिहरू बजारमा पुर्याईसकेको छ भने ११५ वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त गरिसकेको छ।
गैह्र आवासिय नेपाली तथा नेपालका सफल उद्यमीहरूको प्रमुख लगानीमा स्थापित सोपान फर्मास्युटिकल्स लिमिटेड नेपालमा ठूलो लगानी गरिएको अत्याधुनिक औषधि उद्योगहरू मध्यको एक हो। कम्पनीले गत अषाढ महिनामा धितोपत्रको प्राथमिक सार्वजनिक निस्काशन (आईपओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।