एनपीएल: लुम्बिनी लायन्सको घरेलु प्रतिभा खोज अभियान सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल गराउन लागेको हो ।

यसरी छनोट भएका ४ खेलाडीहरू मध्य एक जनाले ‘सुपरस्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले नेपाल प्रिमियर लिगका अरु नामुद खेलाडीहरुसँग खेल्न पाउनुका साथै नगद पुरस्कार एक लाख रुपैयाँ पनि प्राप्त गर्नेछन् । त्यसैगरी बाँकी ३ खेलाडीहरूले ‘स्टार’ को उपाधि प्राप्त गर्नेछन् जसले लायन्स क्लबको विशेष प्रशिक्षणहरुमा सहभागी हुने अमूल्य अनुभव प्राप्त गर्नेछन् ।

विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरीक्षणमा युवा क्रिकेटरहरुको सीप निखार्दै उनीहरुलाई प्रोफेशनल क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जानकारी दिएको छ । यस अवसरले युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँगै प्रशिक्षण र अभ्यास गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्न तयार बनाउने विश्वास क्लबले लिएको छ ।

यस अवसरबारे बोल्दै लुम्बिनी लायन्सका मालिक इश्वर जिसिले भने, ँयो अभियान अन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस गरिरहेका छौँ । यसरी छनोट भएका लुम्बिनीका ताराहरुलाई एनपीएलमा समावेश हुने अवसर प्रदान गरिनेछ भने अन्य ३ स्टारहरूलाई पनि टिमसँगै धेरै कुरा सिक्ने मौका मिल्नेछ ।

उनले भने, ँलुम्बिनी प्रदेशको माटोले पहिलो वर्ष नै राम्रो सफलता हासिल गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । लुम्बिनी लायन्सलाई माया गर्नुहुने सम्पूर्ण लुम्बिनीवासी तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ । लुम्बिनी लायन्सलाई यसैगरी सधैंभरि माया गरिरहन पनि अनुरोध गर्दछौँ ।”

यस सुनौलो अवसरको फाइदा लिन चाहने इच्छुक युवा क्रिकेटरहरूले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिङ्क  मा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

क्लबको कोचिङ प्यानलले सबै सहभागीहरूले पठाएका भिडियोहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया शुरु हुनेछ, जसको आधारमा खेलाडीहरूको सीपको स्तरको आँकलन गरिनेछ । यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूचि तयार गरी उनीहरूलाई व्यक्तिगत रूपमा ट्रायलमा सहभागी हुने अवसर प्रदान गरिनेछ ।

यो अवसरको लागि कार्तिक १८, २०८१ भित्र आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेका आवेदकहरूको नाम कार्तिक २०, २०८१ मा घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार