तीन महिनामा व्यापार घाटा ३ खर्ब ५२ अर्ब पुग्यो

काठमाडौं । मुलुकको व्यापार घाटा साढे ३ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल वस्तु व्यापार घाटा ३.९६ प्रतिशतले कमी आई ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.५१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात २.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो अनुपात ९.९८ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात ६.११ प्रतिशतले कमी आई ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २.२६ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६९ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कुल वैदेशिक व्यापारमा ४.३५ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कुल वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

नेपालको अर्थतन्त्र चलयमान हुन नसक्दा आयात निर्यात प्रभावित हुदाँ कुल वैदेशिक व्यापार खुम्चिन पुगेको व्यवसायीहरु बताउछन् , जसबाट राजस्व समेत प्रभावित हुने निश्चित रहेको छ । बजेट स्रोतका ठूलो हिस्सा आयात राजस्वमा निर्भर भए पनि बजारमा सामग्रीको माग नहुदाँ आयात व्यापार खुम्चिन पुगेको व्यवसायीहरुको भनाई छ । अर्कोतर्फ सरकारले आन्तिरक अर्थतन्त्र बढुवाको कुनै योजना अघि नसर्दा समेत उत्पादन , व्यापार बढ्न नसकेको व्यवासायीहरु बताउछन् । सरकारले राजस्व मात्र खोज्ने व्यापार र उत्पादन तथा औद्योगिक वातावरण निर्माण नगर्ने हो भने मुलुकको व्यापार झन् कमजोर हुदै जाने व्यवसायीहरुको भनाई छ ।

करिब ५३ अर्बको पेट्रोलियम पदार्थ आयात
चालू आर्थिक वर्षको तीन महिनामा ५२ अर्ब ८३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल २२ अर्ब १५ करोड ७० लाख रुपैयाँ, पेट्रोल १६ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ, खाना पकाउने ग्यास १४ अर्ब ६ करोड ४४ ६ लाख रुपैयाँको आयात भएको छ ।

फलाम तथा स्टिल १२ अर्ब १० करोड ७७ लाख रुपैयाँ, मोबाइल ९ अर्ब ८३ करोड , विद्युतीय सवारी साधान ४ अर्ब १६ करोड करोड रुपैयाँको आयात भएको छ ।

नेपालबाट १ अर्ब ८३ करोडको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ । १ अर्ब ६३ करोडको चिया, १ अर्ब २८ करोडको र्यान, १ अर्ब २६ करोडको अलैँची, १ अर्ब २५ करोडको जुस, १ अर्ब २१ करोडको फलाम तथा स्टिलजन्य .सामग्री निर्यात भएको छ । यसबाहेक जुस, प्लाइउड, जुट तथा जुटका सामग्री, चिया, पश्मिना सल, कुकुर विरालाका आहारालगायतका सामग्री पनि निर्यात भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार