शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा २८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा प्रवाह पछिल्लो समय बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको छ ।

मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जा प्रवाहमा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको भदौसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जास्वरुप ९९ अर्ब ७४ करोड रुपैयाँ वितरण गरेका छन् । जुन गत वर्षको भदौसम्मको तुलनामा २८.३९ प्रतिशतले मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह बढी हो । गत आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको शेयर धितो कर्जा वाप्त ७७ अर्ब ६८ करोड रुपैयाँ वितरण गरेका थिए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थाहरुको शेयर किन्ने प्रयोजनका लागि शेयर धितो राखी प्रवाह भएको कर्जा मार्जिन प्रकृतिको कर्जा हो । मार्जिन प्रकृतिका शेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको वृद्धिदर रहेको छ । चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकले ७९ अर्ब १४ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गर्दा गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकले ६० अर्ब ७० करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेको छ ।

औद्योगिक क्षेत्र, घरजग्गा लगायतका क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो कर्जा प्रवाह बढाएको बैंकरहरु बताउछन् । कर्जा प्रवाह गर्नु वाध्यात्मक अवस्था भएको कारण शेयर धितो कर्जा प्रवाह बढेको उनीहरु बताउछन् । हाल बैंक तथा वित्तीय संस्थासँग निक्षेप संकलन ६६ अर्ब ३८ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह रकम ५२ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २ अर्ब ६९ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनसम्म विकास बैंकले १३ अर्ब ६३ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेको थियो । चालु आर्थिक वर्षको साउनसम्म वित्त कम्पनीले ४ अर्ब २८ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनसम्म वित्त कम्पनीले ३ अर्ब ३५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको थियो ।

मौद्रिक नीतिले शेयर धितो राखेर दिने कर्जामा संस्थागततर्फको सीमा खारेज गरी व्यक्तिगततर्फको सीमालाई निरन्तरता दिएको थियो जसले गर्दा बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जामा वृद्धिदर भएको बैंकरहरु बताउछन् । शेयर धितो राखेर दिने कर्जामा संस्थागतर्फ २० करोड रुपैयाँको सीमालाई मौद्रिक नीतिले खारेज गरेको थियो । व्यक्तिगततर्फ शेयर कर्जाको सीमा अधिकतम १५ करोड रुपैयाँ रहेको छ जुन यथावत रहेको छ ।

‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने,’ मौद्रिक नीतिमा उल्लेख छ । धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्नर् नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार