काठमाडौं । आजबाट नेपालको बिजुली बंगलादेश निर्यात हुँदैछ । नेपालबाट बंगलादेशमा निर्यातको लागि भारतले अन्तिम स्वीकृति दिएसँगै ४० मेगावाट बिजुली बंगलादेश विद्युत निर्यात हुन लागेको हो ।
‘हामीले भारतबाट स्वीकृति पाएका छौं । शुक्रबारदेखि बिजुली निर्यात गर्ने तयारी छ,’ नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषले बताएका छन् ।
नेपालको बिधुत बंगलादेश निर्यातको लागि यस अघि नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता भने भइसकेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालको बिजुली बंगलादेश लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता भए पनि भारतले प्रसारणलाइन प्रयोग गर्ने अनुमति दिएको थिएन ।
बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ ।