काठमाडौं । नेपालले अन्य मुलुकसँग गर्ने व्यापार घाटामा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु् आर्थिक वर्षको ४ महिनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो चौमास अर्थात् ४ महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड व्यापार घाटा हुदाँ गत आर्थिक वर्षको सोहि अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड व्यापार घाटा भएको थियो । निर्यात बढ्दा र आयात खुम्चिन पुग्दा व्यापार घाटामा सुधार देखिएको हो ।
त्यस्तै चालू आर्थिक वर्षको ४ महिनामा नेपालले ५२ अर्ब ६७ करोड ७ लाख १० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। यो भनेको गत वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो। गत वर्ष ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजारको निर्यात भएको थियो। उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरु, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी प्रमुख रुपमा रहेका छन् ।
नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।
यो ४ महिनामा नेपालले ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरेको छ। गत वर्षको तुलनामा यो ०.१७ प्रतिशतले बढी हो।गत आर्थिक वर्षको सोहि अवधिमा आयात ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । आयातमा भने समीक्षा अवधिका पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री छन् । यसैगरी समीक्षा अवधिमा औषधिको आयातमा वृद्धि भएको छ । खोपको आयात भारी मात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो ।
नेपालको आयात व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इन्डोनेसिया, संयुक्त राज्य अमेरिका, यूएई, अर्जेन्टिना, अष्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, बंगलादेश, थाइल्यान्ड, क्यानडा तथा टर्की रहेका छन् ।
योसँगै नेपालले यो अवधिमा कुल ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख ४९ हजारको वैदेशिक व्यापार गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ०.५३ प्रतिशतले बढी हो।
आयातनिर्यात व्यापारमा नेपालको कुल वैदेशिक व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रहेको छ। गत वर्षको तुलनामा यो ०.२६ प्रतिशतले कम हो।
विभागका अनुसार यो अवधिमा निर्यात र आयातको हिस्सा ३.८७ प्रतिशतले ऋणात्मक रहेको छ।