धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीको संयोजकत्वमा रहेको समितिले अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको हो । विगतमा अनुपस्थिति तीन मध्ये दुई जनासँग आइतबार अन्तर्वार्ता लिएसँगै समितिले अध्यक्षका लागि नाम सिफारिस गरेको छ ।

समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो । योसँगै सेबोन अध्यक्षको दौडबाट नेप्सेका सीईओ कृष्णबहादुर कार्की बाहिरिएका छन् ।

सेबोन अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच मध्ये यस अघि अनुपस्थित नवराज अधिकारी र कृष्णबहादुर कार्कीले आइतबार अन्तर्वार्ता दिएका थिए । तर अर्का प्रत्याशी चिरञ्जीवी चापागाई भने अन्तर्वार्तामा सहभागी भएनन् ।

मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले अघि प्रचण्ड सरकारको पालामा असार ्२ गते नै अन्तर्वार्ता दिएका थिए । तर तत्कालीन अवस्थामा भने नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईले भने बहिस्कार गरेका थिए ।

अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्नु पर्ने कानुनी प्रावधान छ । अन्तर्वार्तामा दुई जना मात्र सहभागी भएका कारण समितिले अध्यक्षको नाम सिफारिस गर्न सकेको थिएन । दुई जना मात्र अन्तर्वार्तामा सहभागी भएसँगै तत्कालीन समयमा अर्थमन्त्रालयले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएका थियो ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले नियुक्ती गर्न कानुनी अड्चन नभएको राय दिएका थिए । तर सिफारिस समितिमा नै विवाद भएपछि प्रक्रिया रद्द भएको थियो ।

प्रक्रिया रद्द भएसँगै अन्तर्वार्ता दिइसकेका सन्तोषनारायण श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले अध्यक्ष नियुक्ती प्रक्रिया रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो । यो मुद्दा हाल अदालतमा विचाराधीन नै छ । यसको सुनुवाइको पेशी माघमा तोकिएको छ ।

उक्त समयसम्म सेबोनमा अध्यक्ष नियुक्त नगर्दा काम कारबाही प्रभावित हुने भन्दै अर्थमन्त्री विष्णु पौडेलले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेका थिए । महान्यायाधिवक्ता रमेश बडालले पनि प्रक्रिया अघि बढाउन मिल्ने राय दिए । सोही अनुसार समितिले आइतबार अन्तर्वार्ता लिएको हो ।

अब मन्त्रिपरिषद्ले सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र नवराज अधिकारी मध्ये एकलाई सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।

सेबोन २०८० पुसदेखि अध्यक्ष बिहीन छ । हाल अर्थमन्त्रालयका सहसचिव महेश बराल अध्यक्षका जिम्मेवारीमा छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार