काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब बढी पैसा बजारमा पठाउने भएको छ।
बैंकले कर्मचारी सुरक्षण कोष र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपमा राख्ने भएको हो।
बिहीबार लगानीसम्बन्धी सूचना जारी गर्दै बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप लिनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन दिन भनेको हो।
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३७ करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुमा १ अर्ब ९ करोड ६० लाख रुपैयाँ निक्षेपमा राख्नेछ भने राष्ट्रियस्तरका विकास बैंकमा २० करोड ५५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ६ करोड ८५ लाख रुपैयाँ निक्षेपमा राख्नेछ।
यस्तै बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँमा वाणिज्य बैंकहरुमा २ अर्ब ४० करोड, राष्ट्रिस्तरको विकास बैंकमा ४५ करोड र राष्ट्रिय स्तरको वित्त कम्पनमिा १५ करोड रुपैयाँ निक्षेपमा राख्ने भएको छ।
राष्ट्र बैंकले दुवै कोषमा भएको कुल ४ अर्ब ३७ करोड रुपैयाँ एक वर्षका लागि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा लगानी गर्न लागेको हो।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय कम्पनीले मंशिर २३ गते १९ः०० बजेसम्म बैंकमा आवेदन दिइसक्नुपर्नेछ। बैंकले बोलकबोलमार्फत ब्याजदर तय गरेर सबैभन्दा धेरै ब्याज बोलकबोल गर्नेलाई निक्षेप दिने छ।