काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
रातमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।