काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी अधिकृत सीईओ बनाएको छ । बैङ्कको सञ्चालक समितिको वैठकले गोरख राणालाई सीईओमा नियुक्त गरेको हो ।
बैङ्कले उनलाई १ जनवरी २०२५ बाट लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् ।
राणा सन् २०२२ जनवरी १ मा बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए। उनले १९९४ मा बैंककै रिटेल र प्राइभेट बैंकिङ विभागबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । १९९६ मा कर्पोरेट तथा इन्स्टिच्युसनल बैंकिङमा प्रवेश गरेका थिए । आफ्नो ३० वर्षे बैंकिङ यात्रामा उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज, तथा ग्लोबल र कमर्सियल बैंकिङ विभाग प्रमुख जस्ता जिम्मेवारी सम्हालिसकेका छन् ।