काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको राष्ट्रिय स्तरको नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते सोमबार सम्पन्न भएको हो ।
सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको वित्तीय विवरणहरू पारित गरेको छ ।
लघुवित्तले २०८१ असोज सम्ममा देशका सात वटै प्रदेशका ७४ जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख ३३ हजार विपन्न परिवार मध्ये १ लाख १२ हजार ऋणीहरूलाई २२ अर्ब कर्जा र करिव ६ अर्ब बचत परिचालन गर्न सफल भएको छ ।
सभाले ७,६५,३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमबाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।