गरिमा क्यापिटलले पहिलो म्युचुअल फण्ड सञ्चालन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनका लागि इकाई निष्कासनको मिति तय गरेको छ । क्यापिटलले आफ्नै व्यवस्थापनमा गरिमा समृद्धि योजना नामको योजना सञ्चालन गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले पुस ७ गतेदेखि इकाई निष्कासन गर्न लागेको छ ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई क्यापिटलले निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकीे ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

छिटो अवधि पुस ११ गतेसम्म निष्कासनमा रहने यी इकाईमा आवेदन नपरेमा भने ढिलो अवधि पुस २१ गतेसम्म निष्कासनमा रहनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाइ माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँट गर्न सकिनेछ । यद्यपी न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ ।

यी इकाई निष्कासन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस इकाईमा आवेदन दिनका लागि मेरो शेयर अनलाईनसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार