CLI

पुँजीबजारको विकासका लागि काम गर्छु : सेबोन अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा बुधबार आयोजित स्वागत कार्यक्रमा उनले पुँजीबजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गरे।

“अहिले पुँजीबजारको दायरा विस्तार र सरकारवालाको भूमिका पनि बढाउँदै लैजानुपर्ने आवश्यकता छ, यसका लागि सेबोन तयार छ”, उनले भने। उनले शेयर बजारबारे सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिनेलाई नियमन गर्नका लागि समेत सेबोनले तयारी गरेरहेको जानकारी दिए।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सागर ढकालले यी चार वटै संस्थाको उद्देश्य मुलुकको आर्थिक विकास र रोजगारी सृजना रहेकाले एकजुट हुन आवश्यक रहेको बताए।

“पुँजीबजारको विकासका लागि यी सबै संस्थाबीच सहकार्य र समन्वय आवश्यक छ”, उनले भने, “धितोपत्र बोर्डले पनि हालै नयाँ नेतृ्त्व पाएकाले उनको कार्यकालमा पुँजीबजारले नयाँ फड्को मार्ने हाम्रो अपेक्षा छ।” पुँजीबजार क्षेत्रका यी तीन वटै संस्थाले एकै समयमा नयाँ र युवा नेतृत्व पाएकाले बजारको विकासका लागि यो नेतृत्वमा एतिहासिक काम गर्ने जिम्मेवारी आएको उनको भनाइ थियो।

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष रमेन्द्र रायमाझीले पुँजीबजार अहिले विकासको क्रममा रहेको उल्लेख गरे। धितोपत्र बोर्डले लामो समयपछि हालै नयाँ नेतृत्व पाएकाले बजारको विकासका लागि ढिलाइ गर्न नहुने र अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनले नयाँ फड्को मार्ने अपेक्षा रहेको उनकोभनाइ थियो। पुँजीबजारलाई अगाडि बढाउन आफू र आफ्नो संस्था धितोपत्र बोर्ड, स्टक ब्रोकर सङ्घ तथा सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको बताए।

शेयर बजार आर्थिक विकासको पनि आधार भएको र सबैको लक्ष्य एउटै भएकाले एकजुट हुन जरूरी रहेको उनले उल्लेख गरे। “पुँजीबजारका लगानीकर्ताको मनोवल र विश्वास बढाउन आवश्यक छ, यसका लागि आमरूपमा जनचेतना फैलाउनु छ”, उनले भने, “यसका साथै डिजिटाइजेसनका क्षेत्रमा पनि धेरै काम गर्न आवश्यक छ।”

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन_ का अध्यक्ष रामराजा श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सञ्चारमाध्यम र सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्दै विभिन्न सङ्घ संस्थाका नवनियुक्त तथा नवनिर्वाचित पदाधिकारिलाई बधाई दिँदै पुँजी बजारलाई चलायमान बनाउन र देखिएका समस्या समाधान गर्नका लागि शुभकामना दिएका थिए।

 

Leave Your Comment

Related News