काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा साइबर सुरक्षाको चुनौती थपिएको बताएका छन् । नेपाल बैंकर्स संघको ३८औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले प्रविधिको विकाससँगै यसको बढ्दो उपयोगितासँग साइबर सुरक्षाको जोखिम बढेको बताएका हुन् ।
उनल प्रविधिको तीव्र विकासले वित्तीय प्रणालीलाई थप सहज र सुदृढ बनाएको भए पनि, यसले साइबर आक्रमण र अन्य डिजिटल खतराको जोखिम पनि बढाएको बताए ।
गभर्नर अधिकारीले भने, ‘हामीले प्रविधिको विकाससँगै यसका सम्भावित जोखिमहरूमाथि गम्भीर रूपमा ध्यान दिनुपर्ने आवश्यकता छ।’
उनले बैंकहरूलाई साँवाब्याज उठाउन सकस पर्दै गए पनि विगतमा जसरी लगानीयोग्य पुँजी (तरलता) जुटाउन समस्या नभएको बताए । उनले भने, ‘ऋणको साँवाब्याज उठाउन नसकिएको वेलामा पनि तरलताको समस्या छैन । रेमिट्यान्सलाई धन्यवाद छ । बाह्य क्षेत्र सुविधाजनक स्थितिमा छ । दु:ख मान्नुपर्ने कारण छैन । बैंकरहरूलाई लोन रिकभरी मात्रै अहिलेको ठुलो समस्या हो ।’
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम दक्षिण एसियाका लागि क्षेत्रीय अर्थशास्त्री कमलिका दासले दक्षिण एसियाली राष्ट्रको आर्थिक वृद्धि अन्य देशभन्दा तुलनात्मक रूपमा राम्रो देखिएको बताए । यो क्षेत्रमा प्रवाह हुने रेमिट्यान्सले निजी उपभोग बढाएको र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याएको बताए ।
संघको वार्षिक साधारणसभाको अवसरमा राजन सिंह भण्डारीलाई सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुनील केसीले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको बताउँदै त्यसका लागि केन्द्रीय बैंकले पुर्याएको भूमिकाका लागि आभार व्यक्त गरे । कार्यक्रममा नेपाल बैंकर संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रको समस्या समाधान गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।