काठमाडौं । कर्णाली प्रदेशको हुम्लामा नेपाल टेलिकमका बीटीएस टावरहरुमा क्षति पुर्याइएको कारण दूरसञ्चार सेवामा अवरोध पुगेको छ। टेलिकमले यस घटनामा दु:ख व्यक्त गर्दै छिटोभन्दा छिटो सेवा पुन:स्थापना गर्न प्रयासरत रहेको जानकारी दिएको छ।
पुस ४ गते सर्केगाड गाउँपालिका–५ मा अवस्थित बरै माइक्रो बीटीएस टावरमा सोलार प्यानल, भीएसएटी उपकरण, र अर्थिङ केबलमा क्षति पुगेको छ। विकट भौगोलिक अवस्थाका कारण मर्मत कार्यमा समय लाग्न सक्ने हुँदा टेलिकमले सेवाग्राहीलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी भएको छ।
नेपाल टेलिकमले सार्वजनिक महत्त्वका सरकारी सम्पतिमा क्षति पुर्याउने र सर्वसाधारणको सञ्चार सेवा अधिकारमाथि असर गर्ने गतिविधि नगर्न र नगराउन सबैमा अपिल गरेको छ।
कम्पनीले उक्त घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने बताएको छ।
नेपाल टेलिकमले सेवा पुन:स्थापनाका लागि समय लाग्ने भए पनि स्थानीय सेवा प्रयोगकर्ताहरूलाई संयम राख्न र सहकार्य गर्न अनुरोध गरेको छ।