काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर कर्णाली विकास बैंकको सुधारात्मक काम गर्न सुरु गरेको छ।
राष्ट्र बैंकबाट गएका ३ प्रतिनिधिले कर्णाली विकास बैंकको व्यवस्थापनमा काम थालेका हुन्।उनीहरूले सर्वसाधारणको निक्षेप भुक्तानीका लागि केही समय रोकेर काम अगाडि बढाउन लागेका हुन्।
बैंकले आज मंगलबार निक्षेप फिर्ता रोकेको हो। बैंकले आज भुक्तानी लिन नआउन सर्वसाधारणलाई सूचना गरेको छ।राष्ट्र बैंकका प्रतिनिधिले व्यवस्थापन समूहबाट तरलता व्यवस्थापनका विभिन्न विकल्पमा काम गरिरहेको जनाइएको छ।
निक्षेप भुक्तानी पहिलो प्राथामिकतामा राखेर सुधारात्मक कार्य सुरु गरेको बैंकले पैसाको जोहो गरेर पुनः भुक्तानी सुरु गर्नेछ।विगतको अभ्यासलाई हेर्दा राष्ट्र बैंकले जिम्मेवारी लिए सँगै निक्षेपकर्ताहरुको निक्षेप रकम फिर्ता गरेको पाइएको छ ।
खराब कर्जा उच्च भई सर्वसाधारणको निक्षेप फिर्ता दिन नसक्ने भएपछि राष्ट्र बैंकले यसअघि तत्कालीन नेपाल बंगलादेश बैंक र एनसीसी बैंकको व्यवस्थापन लिएको थियो । यसैगरी नेपाल विकास बैंक, गोर्खा विकास बैंकलगायत एक दर्जन बैंक, वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त बैंक, वित्तीय संस्थाको संख्या बढ्दै गएपछि राष्ट्र बैंकले २०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुशन महाशाखा नै गठन गरेको थियो । उक्त महाशाखाले समस्याग्रस्त संस्थाको निगरानी शुरू गरी त्यसको समाधान समेत गरेको थियो । समस्याग्रस्त संस्थाको समस्या समाधान भएपछि २०७४ सालमा महाशाखा खारेज भइसकेको छ ।
समस्याग्रस्त घोषणा भएकामध्ये अब नेपाल शेयर मार्केट एन्ड फाइनान्सको मात्र फरफारक बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैले गर्दा कर्णालीका निक्षेपकर्ताहरुले पनि आगामी दिनमा निक्षेप फिर्ता पाउन सम्भावना देखिन्छ ।