काठमाडौं । शंकास्पद कारोबारमा निगरानी बढाउन अब बैंकहरुमा छुट्टै एएमएलरसीएफटी विभाग वा इकाइ खडा गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले व्यवस्थापकीय तहको कार्यान्वयन अधिकारी प्रमुख रहने गरी एउटा अलग्गै एएमएलरसीएफटी विभाग वा इकाइ खडा गर्नुपर्नेछ।
कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोबार प्रतिवेदन पठाउने राष्ट्र बैंकले विभिन्न प्रावधान पनि थप गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा निज सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकिन गर्नुपर्नेछ।
यसैगरी बैंक तथा संस्थाले शंकास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निजबाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ।
साथै वित्तीय कारोबारको क्रममा उच्च पदस्थ व्यक्तिको अभिलेख नीज पदवाट अवकाश वा मुक्त भएको मितिले कम्तीमा १० वर्षसम्म कायम राख्नु पर्नेछ । यसअघि भने उच्च पदस्थ व्यक्तिको अभिलेख नीज पदवाट अवकाश वा मुक्त भएको मितिले ५ वर्षसम्म कायम राख्नु पर्ने व्यवस्था गरिएको थियो । साथै ग्राहकको पहिचानको हकमा भने ग्राहक पहिचान गर्दा कानुनी व्यक्ति वा प्रबन्धको तहगत संरचना वा स्वामित्व रहेको देखिएमा प्रत्येक तहको र त्यस्तो व्यक्ति वा प्रवन्ध उपर नियन्त्रण गर्ने व्यक्ति अर्कै रहेको देखिएमा त्यस्ता व्यक्तिका अतिरिक्त नियमावलीको नियम ६ को उपनियम १, २ र ३ बमोजिमको प्राकृतिक व्यक्तिको समेत पहिचान गर्नु पर्ने हुन्छ ।