CLI

कपोलकल्पित समाचार र बैंकिङ्ग सेवा अवरोधप्रति तीन संघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय कृषि विकास बैंक लिमिटेडको सिराहा जिल्ला, लहानस्थित शाखा लगायतका अन्य बैंक शाखाहरूमा कार्यरत कर्मचारीहरू लक्षित गरी सामाजिक संजाल र सञ्चार माध्यमहरूमा कपोलकल्पित तथा भ्रामक समाचारहरू प्रसारित हुनुका साथै बैंकिङ्ग सेवा अवरुद्ध पार्ने किसिमका गतिविधिहरू हुन पुगेका घटनाहरूमा नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघको गम्भीर ध्यानाकर्षण भएको छ।

यसरी अत्यावश्यक बैंकिङ्ग सेवा ठप्प पार्न तालाबन्दी, ढुङ्गा हानाहान र होहल्ला जस्ता क्रियाकलापले न केवल बैंकको दैनिक कामकाजमा बाधा पुर्‍याएको र सेवा प्रयोग गर्ने ग्राहकहरूको अधिकारसमेत कुण्ठित भएको तीन संघले शुक्रबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरू नियामक निकायद्वारा जारी नीति(निर्देशन तथा कानूनअनुसार पारदर्शी रूपमा निक्षेप संकलन, कर्जा प्रवाह र असुली जस्ता कार्य गर्दै आएका छन्। कुनै पनि प्रक्रिया चित्त नबुझेको अवस्थामा, ग्राहकहरू कानूनी माध्यमबाट आफ्नो गुनासो राख्न सक्ने अधिकार भए पनि सेवा अवरुद्ध पार्ने गतिविधिहरू कुनै पनि हिसाबले उचित नहुने उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

‘ऋण लिने प्रत्येक ग्राहकको पहिलो दायित्व भनेको कर्जाको साँवारकिस्ता नियमित रूपमा तिर्नु हो। कर्जाको शर्तलाई बेवास्ता गर्दै नतिर्ने रवैया अराजकता मात्र होइन, यसले सम्पूर्ण बैंकिङ्ग प्रणालीलाई असहज बनाउनुका साथै आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ । ‘हाम्रो संस्था ग्राहकवर्ग तथा आम जनमानसलाई सामाजिक संजालमा देखिने भ्रमपूर्ण टिप्पणी र समाचारप्रति सचेत रहन र केवल सम्बन्धित निकायद्वारा जारी आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गर्दछ। यसका साथै, समाजलाई खल्बलाउने, त्रास फैलाउने र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानूनको दायरामा ल्याउन र आवश्यक कारबाही गर्न सम्बन्धित सरकारी निकायहरूलाई आग्रह गर्दछौं ।’

Leave Your Comment

Related News