काठमाडौं । आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र ल्याउने भएको छ । कम्पनीले ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गर्ने भएको हो । कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्ने बताएको छ ।
ऋण पत्रको इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निकाष्सन गर्नेछ। सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्।
सर्वसाधारण यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते बैंकिङ समयपछि हुनेछ। आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।