काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारासहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेसमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३०औं वार्षिकोत्सव समारोहमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताए । उनले सिक्लेसमा नयाँ केवलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताए ।
“सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ, केवलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केवलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ” अध्यक्ष ढकालले भने ।
सिक्लेसदेखि कोरीसम्म बन्ने नयाँ केवुलकारको लागि प्रकृयागत कामहरु सकिईसकेको जानकारी दिँदै उनले केवलकार निर्माणले सो क्षेत्रको सााजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
यस्तै उनले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे ।
गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमश्रृंखला देख्न सकिन्छ । कास्की जिल्लाको उत्तरपूर्वी भागमा रहेको सिक्लेस पोखराबाट करिब ४० किमिको दूरीमा पर्दछ ।