नेपालको आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा ७ खर्ब २३ अर्ब

काठमाडौं । नेपालको वैदेशिक व्यापार (आयात निर्यात) दुवै बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयात र निर्यात बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

मुलुकको वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेर ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ थियो ।

चालु आवको पुस मसान्तसम्म आयात ७.०६ प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले बढेको छ । साउनदेखि पुससम्म ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार रुपैयाँ बराबरको आयात भएको छ । गत आवको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको आयात भएको थियो । बजारमा माग बढेसँगै आयातकर्ताले आयात बढाएको अधिकारीहरु बताउँछन् । यसले क्रमश आर्थिक गतिविधि चलायमान हुन थालेको भन्सारको तथ्यांकले संकेत गरेको छ ।

पुसमसान्तसम्म निर्यात ३१.७८ प्रतिशतले बढेर ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँको निर्यात भएको थियो ।

निर्यातको तुलनामा आयात धेरै हुँदा मुलुकको ब्यापार घाटा ४.३८ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ थियो । वस्तु तथा सेवाको आयातबाट सरकारले २ खर्ब २४ अर्ब ३४ करोड ४ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस अवधिमा नेपालले १०.७२ रुपैयाँ निर्यात गर्दा ८९.२८ रुपैयाँ आयात गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार