राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा नियम पालना नर्गे तीन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्ने बैंकहरुमा प्रभु, हिमालय र एनआईसी एशिया बैंक रहेका छन् ।

केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले चालु आवको दोस्रो त्रैमासमा बैंकहरु, बैंक अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारबाहीको रिपोर्टअनुसार तीन वटै बैंकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, राष्ट्र बैंक ऐन, २०५८ र एकीकृत निर्देशन, २०८० को व्यवस्था उल्लंघन गरी कारबाहीमा परेका हुन् ।

प्रभु बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरिएको हुनाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराएको हो ।

यस्तै, प्रभुलाई राष्ट्र बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ (Capital Adequacy Framework, 2015) को व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको भन्दै सचेत गराएको छ ।

केही कर्जाहरूमा जोखिमभार प्रदान गर्दा फ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो ।

हिमालयन बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १(ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको भन्दै सचेत गराएको छ ।

हिमालयन बैंक प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको हो । यसैगरी, नेपाल राष्ट्र बैंकबाट एनआईसी एशिया बैंक लि. को स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, व्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासन सम्बन्धी कतिपय निर्देशनको पालना नगरेको भन्दै कारबाहि गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार