काठमाडौं । नेपालमा आइतबार राति करिब ९ बजेदेखि इन्टरनेट सेवामा व्यापक समस्या देखिएको थियो। भारतमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति पुगेपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरू प्रभावित भएका थिए।
भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा रहेका अपस्ट्रिम प्रदायकहरूको मुख्य फाइबर केबलमा क्षति पुगेपछि नेपालमा इन्टरनेट ब्यान्डविथ आपूर्तिमा अवरोध देखिएको थियो। यसका कारण नेपालमा मोबाइल तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा सुस्त बन्नुका साथै कतिपय क्षेत्रमा पूर्णरूपमा अवरुद्ध भएको गुनासो प्रयोगकर्ताहरूले गरेका थिए।
सम्बन्धित प्राविधिक टोलीले तत्काल मर्मत कार्य अघि बढाएपछि इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ। हाल इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्किसकेको सेवा प्रदायकहरूले जनाएका छन्।
यसअघि पनि नेपालमा इन्टरनेट सेवामा अवरोध देखिएको थियो। २०८१ वैशाख २० गते नेपालका इन्टरनेट सेवा प्रदायकहरूले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी गर्न नसक्दा इन्टरनेट सेवा ठप्प हुने स्थिति सिर्जना भएको थियो। पछि रकम भुक्तानी गर्ने सहमति भएपछि सेवा पुनः सञ्चालनमा आएको थियो।