काठमाडौं । बहुप्रतिक्षित हुन्डाई क्रेटा ईभी नेपाल भित्रिएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही यूनिट क्रेटा ईभी नेपाल भित्रिएको जानकारी दिएको छ ।
भारतमा सार्वजनिक भएको करिब दुई महिना पछि क्रेटा ईभी नेपालमा भित्रिएको हो । दुई ब्याट्री प्याक र ६ भेरियन्टमा गत जनवरी १७ मा क्रेटा ईभी भारतमा सार्वजनिक भएको थियो । मिडिया रिभ्यूका लागि केही यूनिट क्रेटा ईभी भैरहवा भन्सारबाट पास भएको हो । हाल ती क्रेटा ईभी काठमाडौं आइपुगेको छ ।
भारतमा ६ भेरियन्टमा क्रेटा ईभी सार्वजनिक भए पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले दुबै ब्याट्री विकल्पमा तीनदेखि चार भेरियन्ट मात्र नेपालमा ल्याउने योजना बनाएको छ ।
क्रेटा ईभी भारतमा सार्वजनिक भएसँगै राम्रो व्यापार गरिरहेको छ । नेपालमा हुन्डाई ब्रान्ड अन्तर्गतको क्रेटा स्थापित मोडल हो । आईस क्रेटा जस्तै ईभीले पनि नेपाली उपभोक्ताको विश्वास जित्ने कम्पनीको अपेक्षा छ । क्रेटा ईभी फागुनको अन्तिम सातासम्म सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ ।

ब्याट्री र मोटर
हुन्डाई क्रेटा ईभी दुई ब्याट्री प्याक ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर विकल्पमा उपलब्ध छ । ४२ किलोवाट आवरको विकल्पले ३९० किलोमिटर र ५१.४ किलोवाट आवरले ४७३ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । ४२ किलोवाट आवर ब्याट्री प्याकसँग ९९ किलोवाटको मोटर र ५१.४ किलोवाट आवरसँग १२६ किलोवाटको मोटर छ ।
ईभीले ७.९ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको गति लिन सक्षम छ ।
भेरियन्ट र चार्जिङ
हुन्डाई क्रेटा ईभी भारतीय बजारमा ६ भेरियन्टमा उपलब्ध छ । तर नेपालमा चार भेरियन्टमा आउने बताइएको छ । क्रेटा ईभी ४२ किलोवाट आवर ब्याट्री विकल्पमा चार भेरियन्ट र ५१.४ किलोवाट ब्याट्री विकल्पमा २ भेरियन्टमा उपलब्ध छ । ४२ किलोवाट आवर ब्याट्री तर्फ क्रेटा इलेक्ट्रिक एक्ज्युकेटिभ, क्रेटा इलेक्ट्रिक स्मार्ट, क्रेटा इलेक्ट्रिक स्मार्ट (ओ) र क्रेटा इलेक्ट्रिक प्रिमियममा उपलब्ध छ । ५१.४ किलोवाट ब्याट्री तर्फ क्रेटा इलेक्ट्रिक स्मार्ट (ओ) र क्रेटा इलेक्ट्रिक एक्सिलेन्समा उपलब्ध छ । क्रेटा ईभी डीसी फास्ट चार्जिङको मद्दतबाट ५८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । ११ किलोवाटको वाल एसी चार्जरबाट चार्ज गर्न ४ घण्टा लाग्छ ।
सुरक्षा र फिचर
हुन्डाई क्रेटा ईभीमा ६ वटा एयरब्याग छ । ब्लाइन्ड स्पोट मोनिटरसहितको ३६० क्यामरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम ९टीपीएमएस० क्रेटा ईभीमा छ । गाडीमा क्रुज कन्ट्रोल र लेन किप असिस्टसहितको लेभल २ ड्राइभर असिस्टेन्स सिस्टम रहेको बताइएको छ । गाडीको ह्वीलेबेस २६१० एमएम छ ।
कम्पनीले स्मार्टफोन र स्मार्टवाचमा एक्सेस मिल्ने डिजिटल की फिचर गाडीमा रहेको बताएको छ । ड्राइभिङ सहजताका लागि सिफ्ट बाई वायर सुविधा छ । गाडी भित्र मोबाइल, ल्यापटप चार्ज गर्न मिल्ने तथा बाहिर ठूला घरेलु उपकरण चार्ज गर्न मिल्ने भेहिकल टू लोड (भी२एल) सुविधा पनि गाडीमा छ । माइहुन्डाई एपबाटै आफू नजिकको चार्जिङ स्टेसन फेला पार्न सकिनेछ । गाडीमा १०.२५ इञ्चको इन्फोटेनमेन्ट स्क्रिन छ ।


