काठमाडौं । आजदेखि चीनको छेन्दु–पोखरा नियमित चार्टर उडान सुरू हुने भएको छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा चीनको छेन्दु र नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित व्यावसायिक चार्टर उडान सुरू हुने भएको छ। सिचुआन प्रान्तको सहकार्यमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान गर्नेछ।
नेपाल पर्यटन बोर्डका अनुसार यस उडानले नेपाल–चीनबीचको हवाई सम्पर्कलाई थप प्रभावकारी बनाउनेछ। साथै, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँच प्रदान गर्नेछ। साथै, चिनियाँ पर्यटकहरूका लागि पोखरा भ्रमणको उत्कृष्ट अवसर हुनेछ।’
नयाँ हवाई सम्पर्कले नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ तथा चीन सरकारले अगाडि सारेको ‘भिजिट नेपाल २०२५’ अभियानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
हवाई उडानमार्फत दुई देशका प्रमुख सहरहरू जोडिँदा आपसी मित्रता र व्यावसायिक सहकार्य बलियो हुने अपेक्षा गरिएको छ।
छेन्दु–पोखरा पहिलो व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ। टोली ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि छेन्दु प्रस्थान गर्नेछ। यस क्रममा प्रतिनिधिमण्डलले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ सहरमा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग व्यावसायिक बैठकहरूमा सहभागिता जनाउने कार्यक्रम छ।
नेपाल पर्यटन बोर्डका अनुसार यी प्रयासहरूले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै पर्यटन क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप सुदृढ बनाउनेछ।