भारतीय मालवाहक साधनको प्रभाव रोक्न उद्योग मन्त्रीसँग नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी नेपालका उद्योग तथा व्यापार प्रवर्द्धनका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ।

उक्त भेटमा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको नेपालमा निर्वाध प्रवेशले स्वदेशी मालवाहक व्यवसायमा प्रतिकूल असर परिरहेको औंल्याउँदै सरकारले उद्योग व्यवसायलाई सहयोगी दृष्टिकोणले नहेरेको गुनासो व्यक्त गरे। साथै, उनले नेपालमै उत्पादित सामग्रीलाई बजार सुनिश्चित गर्ने वातावरण तयार गर्नुपर्ने बताउँदै, हाल लुब्रिकेन्ट्स उद्योगका नाममा फिनिस्ड गुड नेपाल भित्र्याइने कार्य रोक्न सरकारलाई आग्रह गरे।

नेपालमै टायर उद्योग स्थापना भए तापनि आवश्यक मापदण्डको अभाव रहेको भन्दै अध्यक्ष चौधरीले बुट मोडेलमार्फत विदेशी लगानी भित्र्याउन सकिने सम्भावना रहेको बताए। साथै, उनले नेपालका उद्योगी(व्यवसायीहरूलाई स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै, नाडाको तर्फबाट सरकारलाई ६ बुँदे लिखित सुझाव समेत पेश गरे।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधन पैठारीसम्बन्धी एजेन्सी दर्ता ऐन अहिलेसम्म पारित नभएका कारण व्यवसायीहरूलाई समस्या भइरहेको उल्लेख गर्दै सो ऐन छिटो पारित गर्न आग्रह गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको ब्याट्री उद्योगहरूको अवस्था प्रस्तुत गर्दै, बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई अन्य उपयुक्त स्थानमा स्थानान्तरण गरी पुनः सञ्चालन गर्न सकिने सुझाव दिए। उनले उद्योग सञ्चालन स्थललाई विशेष आर्थिक क्षेत्र (सेज) का रूपमा विकास गर्न सकिने सम्भावनाबारे पनि जानकारी गराए।

छलफलको क्रममा मन्त्री भण्डारीले नेपाल सरकार खुला बजार अर्थनीति अवलम्बन गरिरहेको उल्लेख गर्दै, ७०० प्रतिशतसम्म नाफा सम्भव हुने खुला बजार अर्थतन्त्रको अवधारणा प्रस्तुत गरे। उनले नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाइने आश्वासन दिए। साथै, उनले एजेन्सी दर्ता ऐन छिट्टै पारित गर्न सम्बन्धित मन्त्रालयसँग परामर्श गर्ने प्रतिवद्धता व्यक्त गरे।

उक्त छलफलमा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, निजी सचिव सुमन धिताल, स्वकीय सचिव आनन्दप्रसाद भट्ट तथा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार