CLI

अटोमोबाइल व्यवसायीहरूको नयाँ संस्था ‘नाइमा’को औपचारिक घोषणा, पहिलो वर्षमै अटो शोको तयारी

काठमाडौं ।अटोमोबाइल क्षेत्रका अग्रणी व्यवसायीहरूले मिलेर नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को औपचारिक रुपमा घोषणा गरेका छन्। यसअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा आबद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यवसायीहरूको पहलमा नाइमा गठन गरिएको हो।

गत फागुन ९ गते कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको यो संस्थाले नेपालमा क्रियाशील सवारीसाधन उत्पादक, असेंबल गर्ने तथा आयात गर्ने व्यवसायीहरूलाई समेट्ने उद्देश्य राखेको छ।

संस्थाको अध्यक्षमा रितु सिंह वैद्य चयन भएकी छन्। उनी टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक हुन्। बाँकी संस्थापक सदस्यहरूलाई बोर्ड सदस्यको रूपमा चयन गरिएको छ। बोर्डमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीपकुमार सारडा, निराकार श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन्।

अध्यक्ष वैद्यका अनुसार नाइमाको मुख्य उद्देश्य प्रतिस्पर्धा होइन, अटोमोबाइल क्षेत्रको समग्र विकास तथा मोबिलिटी सशक्तिकरणमा योगदान पुर्‍याउनु हो। नाइमाले स्पष्ट कार्यदिशा, मध्यकालीन तथा दीर्घकालीन योजना र आवश्यक हस्तक्षेप कार्यक्रममार्फत अटो क्षेत्रको सुदृढीकरण गर्ने जनाएको छ।

संस्थाको स्थापना संगै नाइमाले ‘नेपाल मोबिलिटी एक्सपो’ नामक सवारीसाधन प्रदर्शनीको आयोजना गर्ने घोषणा समेत गरेको छ। यो एक्सपो आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँमा आयोजना गरिनेछ। संयोजन समितिमा गौरव शारडा, शिरिस मुरारका र निराकार श्रेष्ठ रहेका छन्।

यससँगै नेपाली अटोमोबाइल इतिहासमा पहिलोपटक दुई फरक संस्था—नाइमा र नाडाले आ-आफ्ना मितिमा छुट्टाछुट्टै अटो शो गर्ने भएका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भने भदौ ३ गतेदेखि १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने तयारी गरिसकेको छ।

Leave Your Comment

Related News