काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ।
बैंकले चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म १८ दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएका करिब १,९०० व्यक्तिहरुलाई निःशुल्क भोजन वितरण गरेको छ। भोटुस्इन्दिरा समाज कल्याण संस्थाको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल र गौशालालगायत स्थानका सडक छेउ, नदी किनार र पुलमुनी आश्रय लिएका व्यक्तिहरूलाई दैनिक भोजन उपलब्ध गराइएको थियो।
त्यस्तैगरी, बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म मुलुकका सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा सञ्चालन भएका शिविरहरूबाट करिब १,७०० जनाले प्रत्यक्ष लाभ लिएका छन्।
बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक रूपान्तरणमा टेवा पुर्याउने कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ। आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
विश्वकै प्रतिष्ठित अवार्ड ”बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


