CLI

प्रशोधित खाने तेलको निर्यात बढ्दा, नेपालको निर्यात करिब २ खर्ब नजिक

काठमाडौं । मुलुकको निर्यात करिब २ खर्ब रुपैयाँ नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यो गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६५.१६ प्रतिशत बढी हो । गत आवको चैतमसान्तसम्म १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको निर्यात भएको थियो ।

प्रशोधित खाने तेलको निर्यात बढ्दा नेपालको निर्यात बढेको हो । चालु आवको साउनदेखि चैतसम्म ७४ अर्ब २८ करोड रुपियाँ बराबरको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ । कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ ।

नेपालमा उत्पादन भएका कच्चा पदार्थबाट खाने तेल निर्यात भएका हैनन् । अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भारतमा भन्सार छुटमा निर्यात हुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो । साउथ एसिन ट्रेड एग्रिमेन्ट (साफ्टा) को सुविधा प्रयोग गरेर खाने तेलको निर्यात बढ्दा कुल निर्यातमा वृद्धि भएको हो । यस्तो खालको निर्यात दिगो नहुने जानकारहरु बताउँछन् ।

त्यस्तै १७ अर्ब ४६ करोड रुपियाँको धागो, ११ अर्ब ९५ करोड रुपियाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपियाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएका छन् । यस्तै ९ अर्ब ३० करोड रुपियाँको गलैँचा, छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपियाँको अलैँची निर्यात भएको छ ।

Leave Your Comment

Related News