काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन आगामी सार्वजनिक लेखा समिति बैठकमा छलफलका लागि प्रस्तुत गरिने भएको छ। आइतबार बसेको लेखा समितिको बैठकले राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको अध्ययन उपसमितिको प्रतिवेदन सबै समिति सदस्यलाई वितरण गरेको छ। प्रतिवेदनको अध्ययनपछि आगामी बैठकमा यसको विस्तृत छलफल गरिनेछ।
यसैबीच, भैरहवा विमानस्थलसम्बन्धी अध्ययन उपसमितिमा नेतृत्व परिवर्तन हुने भएको छ। संयोजक योगेश भट्टराईले पदबाट अलग भएपछि नयाँ संयोजक चयन गर्ने निर्णय गरिएको हो। समितिका सभापति ऋषिकेश पोखरेलले अच्युतप्रसाद मैनालीलाई संयोजकको रूपमा प्रस्ताव गरे पनि सर्वसम्मति नजुटेपछि उपसमितिका सदस्यहरूमध्येबाट नयाँ संयोजक तोक्ने निर्णय गरिएको हो।
भट्टराई नेतृत्वको उपसमितिमा मनिष झा, डा. अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँण र सराज अहमद फारुकी सदस्य रहेका छन्।

