काठमाडौं । स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको भन्सार शुल्क अस्थायी रूपमा घटाउने सहमति गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक रूपमा लगाइएको कर ११५ प्रतिशतसम्म घटाउने निर्णय गरेका हुन्।
वार्ताको समापनपछि सोमबार सार्वजनिक रूपमा उक्त सम्झौताको घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई “उत्पादक र रचनात्मक” भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
यो सहमति राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा उच्च भन्सार शुल्क लगाएको पछिको पहिलो उच्चस्तरीय वार्ता हो। ट्रम्प प्रशासनले चीनबाट आयात हुने केही वस्तुहरूमा अधिकतम १४५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको थियो। जवाफी कदमस्वरूप चीनले पनि केही अमेरिकी उत्पादनमा १२५ प्रतिशतसम्मको कर लगाएको थियो।
यी शुल्कका कारण विश्व बजारमा व्यापक अस्थिरता देखिएको थियो, जसले विश्वव्यापी मन्दीको चिन्ता बढाएको थियो।
सम्झौताअनुसार अब आगामी ९० दिनका लागि अमेरिका चीनबाट हुने आयातमा भन्सार शुल्क घटाएर ३० प्रतिशतमा सीमित गर्नेछ भने चीनले अमेरिकी वस्तुहरूमा लगाइएको शुल्क घटाएर १० प्रतिशतमा ल्याउनेछ।

