काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफामा भारी गिरावट आएको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो ।
नेपाल टेलिकमले चालु आवको साउनदेखि चैतमसान्तसम्म २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्म टेलिकमको खुद नाफा ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा टेलिकमको खुद नाफा २ अर्ब ६९ करोड ५२ लाख ७३ हजार रुपैयाँ अर्थात ४८.६७ प्रतिशतले घटेको छ ।
चालु आवको तेस्रो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६लाख १३ हजार रुपैयाँ रहेको छ । कुल आय भने २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार रुपैयाँ छ ।
कम्पनीको आम्दानीसँगै प्रति शेयर आम्दानी २१.०५ रुपैयाँमा झरेको छ ।
नेपाल टेलिकमको खुद नाफा घट्ने कारण यस्तो
- ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ।व। को तेस्रो त्रैमासिकसम्मको तुलनामा करिब रु. ५३ करोड ५५ लाख ६६ हजार (अर्थात् २२.३७ प्रतिशत) ले कम भएको । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ।
- कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस आ।व। को तेस्रो त्रैमासिकसम्म करिब रु. १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आव को तेस्रो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. २ अर्ब ३८ करोड ९७ लाख ९६ हजार (अर्थात् ४६.०२ प्रतिशत) ले घटी भएको छ।
- प्रतिस्पर्धी आईएसपीहरुले मोबिलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोबाइलको डाटाब प्रयोगमा उल्लेखनीय कमी भएको।
- राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
- सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको।
- कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा यस आ.व. मा रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको।
- कम्पनीले गत वर्षसम्म Contingent Liabilities मा देखाएको केही मुद्दाहरुको यस आ.व.मा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आ.व.मा व्यवस्था गरिएको।

