काठमाडौं । मुलुकको सार्वजनिक ऋण चालु आर्थिक वर्ष (आव) वैशाखसमसान्तसम्म २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ ।
पछिल्लो १० महिना अर्थात् वैशाखमसान्तसम्ममा १ खर्ब ८८ अर्ब ३० करोड थप उक्त मात्रामा सार्वजनिक ऋण पुगेको हो । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रहेको थियो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको सार्वजननिक ऋण कुल गार्हस्थ उत्पादनको ४२.९४ प्रतिशत हो । कुल सार्वजनिक ऋणमा वैशाखमसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत अर्थात् १३ अर्ब ५५ अर्ब ६९ करोड र वैदेशिक ऋणको हिस्सा ४८.३१ प्रतिशत अर्थात् १२ खर्ब ६६ अर्ब ७० करोड रहेको छ । विश्व मुद्रा कोषले जीडीपीमा ५५ प्रतिशत भन्दा तलको अनुपातलाई खराब नमान्ने हुदाँ नेपालको सार्वजनिक ऋणलाई लिएर समस्या नरहेको कार्यालयका उप–सचिव प्रकाश पुडासैनीले इक्विटी नेपाललाई बताए । अर्थतन्त्रलाई स्वःस्फूर्त चलायमान बनाइराख्न, विकास निर्माण्का कार्यलाई सूचारु राख्न र आर्थिक सामािजक दायित्व पूरा गर्न आवश्यक न्यून वित्त परिपूर्ति गर्ने दिशामा सार्वजनिक ऋण परिचालन एक महत्वपूर्ण माध्यम मानिने हुदाँ नेपाल जस्तो मुलुकलाई सार्वजनिक ऋण आवश्यक पर्ने उप–सचिव पुडासैनको भनाई छ ।
चालु आवमा कुल ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा वैशाखमसान्तसम्म ३ खर्ब ९० अर्ब ८३ करोड सार्वजनिक ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७१.४५ प्रतिशत अर्थात् ३ खर्ब ९० करोड ८३ लाख रहेको छ । जसमा आन्तरिक ३ खर्ब १ अर्ब १४ करोड र वैदेशिक ऋण ८९ अर्ब ६८ करोड रहेको छ । जुन वार्षिक लक्ष्यको क्रमशः ९१.३५ र ४१.३३ प्रतिशत हो ।
चालु आवको वैशाखमसान्तसम्ममा ऋण सेवा खर्च अर्थात् सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी ३ खर्ब ८ अर्ब १४ करोड रहेको छ । जुन वार्षिक बजेट विनियोजनको आधारमा ७६.४९ प्रतिशत हो । कुल र्गाहस्थ उत्पादनको आधारमा वैशाखमसान्तसम्ममा कुल ऋण सेवा खर्च ५.०५ प्रतिशत रहेको छ । चालु आवको लागि सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीको लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ ।
समिक्षा अवधिमा आन्तरिक ऋणको २ खर्ब ६५ अर्ब ६७ करोड र बाह्य ऋणको ४२ अर्ब ४७ करोड सेवा खर्च रहेको छ । आन्तरिक ऋणतर्फ साँवा भुक्तानी २ खर्ब १५ अर्ब ३३ करोड र ब्याज भुक्तानी ५० अर्ब ३३ करोड रहेको छ । साथै बाह्य ऋणको साँवा भुक्तानी ३५ अर्ब ३८ करोड र ब्याज भुक्तानी ७ अर्ब ९ करोड रहेको छ । पछिल्लो समय नेपालका लागि बाह्य ऋणको तुलनामा आन्तरिक ऋण भुक्तानी बढी सकसपूर्ण बन्दै गएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबाट सिर्जित समस्याका कारण ब्याजदर बढ्नु र भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको भार बढेका कारण समस्या रहेको देखिन्छ । ब्याजदर बढेका कारण आन्तरिक ऋणको व्यवस्थापनमा चाप बढेको छ ।
‘ऋणपत्र र ट्रेजरी बिलहरू महँगो ब्याजदरमा ल्याउनुपरेको छ । बाह्य ऋण सहुलियत ब्याजदरको र लामो समयका लागि लिइने भएका कारण त्यसमा आन्तरिक ऋणमा जस्तो चाप देखिँदैन’, उनले भने । अहिलेसम्म नेपालले विदेशी दातृ निकायबाट व्यावसायिक ऋण प्रयोग गरेको छैन । सहुलियतपूर्ण कर्जा मात्रै लिने गरेको छ । अधिकांश बाह्य ऋण करिब एक प्रतिशत ब्याजदरमै लिइएको छ । तर नेपालले लिएको विदेशी ऋण विदेशी मुद्रामा तिर्नुपर्ने भएकाले विनिमय दरमा आउने उतारचढावको प्रभाव परिरहेको छ । वास्तवमा बाह्य ऋणको चुनौती भनेको विनिमयदरको उतारचढाव रहेको छ ।

