काठमाडौं । सांसद राजेन्द्र केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततामा छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा तत्कालै पठाउन माग गरेका छन् ।
सार्वजनिक लेखा समितिमा अनियमितताबारे उपसमितिको प्रतिवेदनबारेको छलफलमा बोल्दै उनले आयोगलाई तत्कालै छानबिनका लागि पत्राचार गर्नुपर्ने बताएका हुन् । ‘यसको लागत अस्वाभाविक ढङ्गले बढाइएको छ । प्राविधिक विषयमा आवश्यकता अनुरुप पुन: छलफल गर्न सकिएला, हामी अभियोजन गर्ने निकाय नभएकाले अख्तियारलाई तत्कालै छानबिनको लागि पत्राचार गरौँ,’ उनले भने ।
उनले अघि भने यसमाथिको छानबिनको कार्यक्षेत्र अख्तियारकै रहेकाले धेरै नगिजोल्न माग गरे । उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी अनियमितता भएको प्रतिवेदन तयार गरेको छ ।

