CLI
Global College

वैदेशिक रोजगारमा रहेकालाई आइपीओ जारी अवधि घट्यो, बैंकलाई  अग्राधिकार शेयरको व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा नवौँ संशोधन गरेको छ।

धितोपत्र बोर्डले आन्तरिक रुपमा गठित समितिको सिफारिसमा यो निर्देशिकामा संशोधन गरिएको हो। संशोधित निर्देशिकामार्फत दुईवटा व्यवस्था कायम गरिएको छ।

संशोधित निर्देशकामा अब विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याइएको शेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तीमा ४ कार्यदिन कायम गरिएको छ। सो अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ।

यसैगरी धितोपत्र बोर्डले निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन गर्ने व्यवस्था गरिएको छ। यसअघि निर्देशिकामा यस्तो व्यवस्था रहेको थिएन।

संशोधित निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएरमात्रै अग्राधिकार शेयर जारी गर्न बैंक तथा वित्तीय संस्थाले धितोपत्र बोर्डमा आवेदन दिन सक्ने प्रावधान तोकिएको छ। बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य १०० रुपैयाँमा अग्राधिकार शेयर जारी गर्न पाउनेछन्।

यसैगरी बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र अग्राधिकार शेयर जारी गर्न पाउनेछन्। यसमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन्।

संशोधित निर्देशिका आउँदो साउन १ गतेदेखि लागू हुने धितोपत्र बोर्डले जनाएको छ।

Leave Your Comment

Related News