काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा करिब साढे १५ खर्ब विप्रेषण (रेमिटेन्स ) भित्रिएको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु.१५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतलेबढेको थियो । २०८२ जेठ महिनाकोविप्रेषण आप्रवाह रु.१ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तोआप्रवाह रु.१ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।

