विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड, १८ लाख ५६ हजार जनाको हात खाली 

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आज असार २९ गते आइतबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार ६ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार ६ सय ८६ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ बाँडफाँटमा १८ लाख ५६ हजार ३९६ जनाको हात खाली भएको छ ।

कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो।

थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

जसमध्ये १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको हो । यी वाहेक पनि कर्मचारीहरुका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानीकोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर बाँडफाँट गरिएको छ ।

यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ। हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्र बहादुर ढकालको ५ प्रतिशत, र सुनिल श्रेष्ठको ४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार