काठमाडौं । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परि ज्यान गुमाएका शिक्षक तथा बैंकका ग्राहक रघुनन्दन यादवको परिवारलाई बीमा दावी अन्तर्गत पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ।
मकवानपुरको थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयमा अध्यापनरत यादव पालुङ शाखामा कर्मचारी तलब खाता संचालन गरिहेका ग्राहक थिए। उनको २०८२ जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परी निधन भएको थियो।
बैंकले कर्मचारी तलब खाता अन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको दुर्घटनामा मृत्यु भएमा अधिकतम पाँच लाख रुपैयाँको बीमा सुविधा दिने विशेष योजना अनुसार उक्त रकम मृतकको परिवारलाई उपलब्ध गराएको हो।
यसै सन्दर्भमा नेपाल बैंक लिमिटेडले असार २२ गते एक विशेष कार्यक्रमको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले मृतक यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनको श्रीमती अमिरा कुमारी यादवलाई बीमा दावी रकम स्वरूप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंकले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षालाई उच्च प्राथमिकता दिँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा स्व. यादवकी पत्नी अमिरा कुमारी यादवले दुःखद घडीमा बिना झन्झट नेपाल बैंकबाट प्राप्त आर्थिक सहयोगले परिवारको दैनिक जीवनमा ठुलो राहत पुगेको महसुस भएको बताइन्।

