आठ वर्षमा प्रधानमन्त्री प्रचण्डको जग्गा १४ कठ्ठाले बढ्यो, अन्य सम्पत्ति पनि बढ्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । प्रधानमन्त्रीको स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।

विवरणअनुसार प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन ।

यस अघि २०७३ सालमा प्रधामनन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन रहेको उल्लेख थियो । अहिले प्रधामनन्त्री प्रचण्डले थप १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् ।
२०७३ सालमा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका प्रचण्डले अहिले ५ तोला सुनलाई पनि पैतृक नै भनेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार