काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह भएको छ । अघिल्लो वर्षको असारसम्म बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । १ वर्षमा यस्तो कर्जा ५६.१७ प्रतिशतले बढेको हो ।
यता, गत वर्षको जेठमहिनाको तुलनामा असारमा सेयर धितो कर्जा ९.३६ प्रतिशतले बढेको छ । जेठमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २८ करोड रुपैयाँ बराबरको सेयर धितोमा कर्जा प्रवाह गरेका थिए ।
बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहेको, ब्याजदर घट्दो क्रममा रहेको, लगानीका अन्य क्षेत्रमा अपेक्षित रुपमा सुधार हुन नसकेको साथै, सेयर बजारमा लगानीकर्ताको सहभागिता पनि उच्च रहेको कारण केही महिनायता सेयर कर्जा बढ्न थालेको जानकारहरु बताउँछन् ।
यता, हायर पर्चेज कर्जा प्रवाह १ खर्ब २८ अर्ब ६८ करोड, रियल स्टेट कर्जा २ खर्ब ७५ अर्ब ९६ करोड, २ करोडसम्मको घर कर्जाका लागि ४ खर्ब १७ अर्ब ६१ करोड रुपैयाँ प्रवाह भएको छ ।
सेयर धितो कर्जा भन्नाले लगानीकर्ताले आफ्ना सेयरहरु धितो राखेर वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने प्रक्रिया बुझिन्छ । यो वित्तीय उपकरण आधुनिक पुँजीबजारको अभिन्न अङ्ग हो, जसले बजारमा पुँजी प्रवाह बढाउने, लगानीकर्ताको खरिद क्षमता वृद्धि गर्ने र सेयर कारोबारलाई सक्रिय बनाउन सहयोग गर्दछ ।
सेयर धितो कर्जा बढ्नु बजारप्रति लगानीकर्ताको विश्वास उच्च रहेको संकेत हो । जब लगानीकर्ताले भविष्यमा सेयर मूल्य बढ्ने अपेक्षा गर्छन्, उनीहरु बैंक वा वित्तीय संस्थाबाट कर्जा लिएर सेयर खरिद गर्न उत्साहित हुन्छन् । यसले बजारमा तरलता बढाउँछ र खरिद दबाब सृजना गर्छ । परिणामस्वरुप बजार सूचकाङ्कमा वृद्धि देखिन सक्छ र समग्र बजार सक्रिय बन्छ । यसले आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउँछ ।


