काठमाडौं । सञ्चालनमा रहेका १३ वटा जीवन बिमा कम्पनीहरुले गत वर्षको असारमसान्तसम्म ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ बराबरको रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीहरुले सूचीकृत सेयरमा १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका थिए । १ वर्षमा बिमाहरुले सेयर बजारमा गरेको लगानी ११ अर्ब ४० करोडले बढेको छ । यसले संस्थागत लगानीकर्ताको बजारमा आकर्षण बढेको देखाएको छ ।
बिमा कम्पनीहरुमध्ये हिमालयन लाइफले सबैभन्दा धेरै १० अर्ब ८ करोड रुपैयाँ बराबरको रकम सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । त्यसपछि नेपाल लाइफले ४ अर्ब १२ लाख, सूर्यज्योति लाइफले २ अर्ब ९२ करोड, लाइफ इन्सुरेन्स कर्पोरेसन(नेपाल)ले २ अर्ब ३४ करोड, सन नेपालले १ अर्ब ५१ करोड, रिलायबल नेपालले भने १ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै, नेसनल लाइफले १ अर्ब ३३ करोड, सिटिजन लाइफले १ अर्ब २९ करोड, आइएमई लाइफले १ अर्ब २२ करोड, प्रभु महालक्ष्मीले १ अर्ब १५ करोड, सानिमा रिलायन्सले ९९ करोड, एसियन लाइफले ८६ करोड ४३ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीले ५४ करोड ६२ लाख लगानी गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ । राष्ट्रिय जीवन बिमा कम्पनी बाहेक अरु सबैको सेयर बजारमा लगानी बढेको छ ।

