‘स्वदेशी उद्योगलाई नै बिजुली छैन, भारतलाई किन बेच्ने ?’

काठमाडौं । नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगहरूले लोडसेडिङ खेपिरहेको बेलामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै असन्तुष्टि जनाएको छ । विगतमा आन्तरिक उत्पादनले नधानेको अवस्थामा आयात गरेर भए पनि उद्योगलाई नियमित बिजुली दिन माग गरिएको तर प्राधिरकणले आयात गर्दा महँगो पर्ने भनेर उद्योगमा अघोषित लोडसेडिङ गराएको तर अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई नदिई भारतमा निर्यात थालिएको भन्दै परिसंघले असन्तुष्टि जनाएको हो ।

परिसंघले उद्योगहरूलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेर प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको आरोप लगाएको छ । परिसंघले एक विज्ञप्ति जारी गर्र्दै स्वदेशी उद्योगलाई माग अनुसारको बिजुली नदिने तर निर्यात गरेर आम्दानी देखाउने प्राधिकरणले गरिरहेको जनाएको छ ।

‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचतमा रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ माग गर्दछ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४ सय मेगावाट विद्युत् भारतमा निर्यात गरेको जानकारी गराएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार