वीरगन्ज । पर्सा जिल्लामा जारी कर्फ्यु खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालयले दैनिक ६ घण्टा निषेधाज्ञा र १८ घण्टा कर्फ्यु लागू हुने व्यवस्था गरेको हो।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम आदेश लागू गरिएको जानकारी दिएका छन्।
अनुसार, कर्फ्यु बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म रहनेछ। त्यस्तै निषेधाज्ञा बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म लागू हुनेछ।
आदेश पूर्वमा बाईपास रोडदेखि पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू हुने प्रशासनले जनाएको छ।
कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, फोहोर बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन, पर्यटक, विद्युत प्राधिकरण, खानेपानी, दूध बोक्ने गाडी र हवाई टिकट भएका यात्रुलाई आवतजावतको अनुमति दिइनेछ।
निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामान खरिद–बिक्री तथा सामान्य आवतजावत गर्न पाइने भए पनि ५ जना वा सोभन्दा बढी भेला, सभा, जुलुस र प्रदर्शन गर्न पाइने छैन। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

