काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए। गत शुक्रबार बसेको नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो।
आज परीक्षण गरी पर्सिदेखि लागू हुनेछ । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजार झारेको भन्दै अधिकांश लगानीकर्ताले यसको विरोध जनाएका थिए । गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागू भएको थियो ।
“नेपाल धितोपत्र बोर्डको मिति २०८२/०६/०४ को पत्रमार्फत धितोपत्र सम्बन्धी ऐन २०६३ दफा ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशन अनुसार धितोपत्र कारोवार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लिखित “उपविनियम (१) को खण्ड (ख) बमोजिमको सत्रमा २:४५ बजे देखि ३: ०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ” भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ । परिवर्तीत व्यवस्थाको आज मिति २०८२/०६/०५ मा प्राविधिक परीक्षण गरी मिति २०८२/०६/०६ मा सार्वजनिक बिदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागु गरिने व्यहोरा अनुरोध छ,” नेप्सेको सूचनामा उल्लेख छ ।

