काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो ।
के हो लिची बगान प्रकरण ?
कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएको थियो । त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो । घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।
तत्कालीन कास्की जिल्लाका नापी प्रमुख राजेन्द्र जंग राणाले अदालतको फैसलाविपरीत बाटुले चौरको जग्गा आफ्नै नाममा पास गरी विभिन्न व्यक्तिहरूलाई बिक्री गरेका थिए । यसरी किर्ते गरेर हत्याइएको जग्गामा हाल व्यापारीहरूले महल बनाएका छन् । पोखराका धनाड्य भनेर चिनिने इन्द्र गौचन लगायतले यो क्षेत्रको जग्गामा रजाइँ गरेका छन् ।
अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्की पुग्दा दुई वर्षसम्म पनि फैसला कार्यान्वयनमा आलटाल गरेपछि आफू संलग्न रहेको पार्टीका नेताहरू भेट्न फैसलासहित लामा काठमाडौं आएका थिए ।
फैसलाको कानुनी कार्यान्वयनमा लैजानुको सट्टा सिंहदरबारका मन्त्रीले लामासँग घुस लिएर कर्मचारी सरुवा गरिदिने र फैसला कार्यान्वयन गरिदिने आश्वासन दिएपछि लामाले सम्पूर्ण लेनदेनको अडियो रेकर्ड गरेका थिए । पूर्वमन्त्री रञ्जिता श्रेष्ठले १५ लाख, मन्त्री राजकुमार गुप्ताले ७८ लाख, मन्त्री बलराम अधिकारीले ३२ लाख, तत्कालीन सचिव अर्जुन पोखरेलले पाँच लाखसहित वनकुखुरा र मदिरा लिएका थिए ।

