न्युयोर्क। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको र प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनरत समुह (हमास) ले मध्यस्थकर्ताहरूको प्रयासको प्रशंसा गरेकोमा स्वागत गर्नु भएको छ । सामाजिक सञ्जाल एक्समा गुटेरेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको प्रस्तावको आधारमा भएको गाजामा युद्धविराम र बन्धक मुक्तिको लागि सम्झौताको घोषणालाई स्वागत गर्नु भएको हो ।
यसै क्रममा उनले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीे लगायतका मध्यस्थकर्ताको कूटनीतिक प्रयासलाई अत्यन्त मर्यादित र आवश्यक सफलताको आधार भनी प्रशंसा गर्नु भएको छ । उनले सबै पक्षहरूलाई “यो महत्वपूर्ण अवसरको लाभ उठाउन“ र “सम्झौताका सर्तहरू पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरेको छ । उनले गाजामा मानवीय आपूर्ति र आवश्यक व्यापारिक सामानहरूको तत्काल र निर्बाध पहुँच सुनिश्चित गर्नुपर्ने कुरामासमेत जोड दिनु भएको छ । गुटेरेसले सम्बन्धित पक्षलाई प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिँदै, इजरायली र प्यालेस्टिनीहरूलाई शान्ति र सुरक्षा प्रदान गर्न दुई–राज्य विच युद्ध अन्त्येको विश्वसनीय राजनीतिक मार्ग स्थापना गर्न यो महत्वपूर्ण अवसरको उपयोग गर्न आग्रह गरेको छ ।

